नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावका लागि कास्कीका ३ र २ मा उम्मेद्वार छनोट ।

अन्य

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावका लागि कास्कीका ३ र २ मा उम्मेद्वार छनोट ।

सेप्टेम्बर २७ कास्की :- नेकपा माओवादी केन्द्रले कास्कीमा उम्मेद्वार छान्न शुरु गरेको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावका लागि कास्कीका ३ निर्वाचन क्षेत्र मध्ये २ वटामा उम्मेद्वार टुंग्याएको छ । प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र मध्ये एउटामा टुंग्याउनुका साथै अन्यमा छलफल जारी राखेको छ ।माओवादी केन्द्र कास्कीको मंगलबार बसेको सचिवालय बैठकले कास्की क्षेत्र नम्बर १ मा पूर्वमन्त्री देव गुरुङ र क्षेत्र नम्बर २ मा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’लाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

माओवादी केन्द्रबाट क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्न सर्वसम्मत भएका गुरुङ पूर्व कानूनमन्त्री हुन् । उनी माओवादीको सचिवालय सदस्य पनि हुन् । यसअघि ०६४ सालको चुनावमा उनी कास्की क्षेत्र नम्बर १ बाटै निर्वाचित भई सभासद बनेका थिए ।कास्की क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेद्वार बनेका करण माओवादीको पोलिट्ब्यूरो सदस्य हुन् । यसअघि ०६४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित उनी ०७० सालको चुनावमा भने पराजित भएका थिए ।

कास्की क्षेत्र नम्बर ३ मा भने उम्मेद्वार टुंग्याउन बाँकी रहेको माओवादी केन्द्र कास्कीले जनाएको छ । कास्की क्षेत्र नम्बर ३ मा पार्टीका कास्की सहईञ्चार्ज रामजी बराल ‘जीवन’सहित पूर्वसभासद दुर्गा विक, भूमी पराजुली र नवराज भण्डारीको नाम चर्चामा छ । जसमा बराल र विक मध्ये एकजना उम्मेद्वार बन्ने सम्भावना रहेको बताइन्छ । बराल ०७० सालको संविधान सभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए भने विक ०६४ सालको चुनावमा कास्की क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद हुन् ।

त्यस्तै, प्रदेश सभा चुनावका लागि पनि माओवादी केन्द्रले उम्मेद्वार छान्न शुरु गरेको छ । माओवादी केन्द्रले प्रदेश सभा चुनावका लागि कास्की क्षेत्र नम्बर २ को -क) मा गंगा पोखरेललाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । उनी माओवादी केन्द्र कास्कीका सहसंयोजक हुन् । अन्य क्षेत्रमा भने छलफल भइरहेको माओवादी केन्द्र कास्कीले जनाएको छ ।

माओवादी केन्द्र श्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ को (क) मा झलकपाणी तिवारी, नवराज बराल, निर्मला सुवेदी, हरि लामिछाने, अर्जुन मल्ल र कृष्णकुमारी घिमिरेको नाम चर्चामा छ । क्षेत्र नम्बर १ (ख) मा कास्की सहइञ्चार्ज दीपक कोइराला ‘रुपक’सहित पार्टीका पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष विश्वप्रकाश लामिछाने, मित्र गुरुङ, मिन गुरुङ, लालबहादुर गुरुङ, शरदचन्द्र बराल र कल्पना पाण्डेको नाम चर्चामा छ ।

कास्की क्षेत्र नम्बर २ को (ख) मा त्रिभुन पौडेल, रामप्रसाद पौडेल, गोविन्द पौडेल, रतन गुरुङ र विपिन आचार्य प्रवल दाबेदारका रुपमा हेरिएको छ ।कास्की क्षेत्र नम्बर ३ को (क)मा प्रविणा अधिकारी, मोहन दवाडी, भोजराज पौडेल, राजु तिमिल्सिना र नवराज भण्डारीको नाम उम्मेद्वार बन्ने चर्चामा छ । यसैगरी क्षेत्र नम्बर ३ (ख)मा अग्नी कँडेल, गोमा ढकाल, धर्म गुरुङ, भूमी पराजुली र दुर्गा भण्डारीलाई सम्भावित उम्मेद्वारका रुपमा हेरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...