ने बि संघ चितवनले प्रधान मंत्री ओलीको पुत्ला दहन |

राजनीति

ने बि संघ चितवनले प्रधान मंत्री ओलीको पुत्ला दहन |
कार्तिक २७ चितवन :-नेपाल विद्यार्थी संघ चितवनले नेविसंघ तपेश्वर उच्चमावि काभ्रेका इकाई अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भरतपुरको चौबिसकोठी र नारायणगढमा शहिदचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओलीसँग सम्बन्धित स्टाटस सेयर गरेको विषयमा ढकाललाई प्रहरीले पक्राउ गरेका थियो । सो विषयको विरोध गर्दै नेविसंघले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा सोमबार पुत्ला दहन गरिएको नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जानकारी दिए । सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउने गरी षड्यन्त्रमूलक तरिकाले ढकाललाई पक्राउ गरिएको भन्दै सो घटनाको विरोधमा विरोध प्रदर्शन गरेको ढकालले बताए । ओली सरकार ज्ञानेन्द्र पथमा अग्रसर भएको भन्दै १६ वर्षीय ढकाललाई तत्काल रिहाइको लागि माग गरिएको छ । नाबालकलाई पक्राउ गरी १२ घण्टासम्म रिहाई नगरेको भन्दै नेविसंघले आन्दोलन गरेको हो । ढकालको रिहाइको माग गर्दै नेविसंघ चितवनले दुई स्थानमा पुत्ला दहन गरेको थियो । शहिदचोकमा जिल्ला अध्यक्ष सूर्य ढकालको नेतृत्वमा पुत्ला दहन भएको थियो भने चौबिसकोठीको महालक्ष्मी मिष्ठान्न भण्डार अगाडि नेविसंघ नेता परमेश्वर खनालको नेतृत्वमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो । प्रहरीलाई झुक्याउदै जलाईएको पुत्लामा ‘म हुँ प्रधानमन्त्री केपी ओली, मैले जे गरेनी हुन्छ’ लेखिएको थियो । पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले ओली नेतृत्वको सरकार अहिले निरंकुशता तर्फ उन्मुख भएको बताएका थिए । निरंकुशताको पहिलो पराकाष्ठा भनेको नै अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनीहरुले जनताको बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेको आरोप लगाएका थिए । शहिदचोकमा आयोजित सभामा नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकाल, उपाध्यक्ष अनमोल अधिकारीलगायतका नेताहरुले सम्बोधन गरेका थिए भने चौबिसकोठीमा आयोजित कोण सभामा नेबिसंघका पूर्वकेन्द्रीय सदस्य निर्मल पौडेल, नेविसंघ नेता परमेश्वर खनाल, कृष्णविलास अधिकारीलगायतले बोलेका थिए ।     साभार :-Narayannews.com

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...