मिटरमा चल्ने भए पर्यटकीय शहर पोखराका ट्याक्सीहरु |

स्थानीय

मिटरमा चल्ने भए पर्यटकीय शहर पोखराका ट्याक्सीहरु |

जनवरी१३ पोखरा :- पोखरामा संचालन हुने सवै ट्याक्सीहरु अवदेखी मिटरमा चल्ने भएका छन् । लामो समय मिटरमा चल्न आनाकानी गरेको ट्याक्सी व्यवसाय समिति पोखराले समिति मातहतका सवै ट्याक्सीहरुलाई मिटरमा चलाउन तयार भएको हो ।शुक्रवार जिल्ला प्रशासनमा भएको सर्वपक्षिय वैठकले ट्याक्सी मिटरमा चलाउने र व्यवसायीले उठाउँदै आएको भाडा समायोजनको माग सम्वोधनको लागि यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रशासनले सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।व्यवसायी समितिको आन्दोलन चलिरहेकै बेला बिहीबार स्थानीय प्रशासन, यातायात व्यवसायी, नागरिक समाज लगायतको रोहबरमा कास्की सिडिओ तारानाथ अधिकारीको कार्यकक्षमा छलफल चल्यो ।

sahamati-

छलफलमा अधिकांशले पोखरामा मिटरमा ट्याक्सी चलाउने विकल्प नरहेको बताए । यातायात व्यवासायीले पनि मिटरमा ट्याक्सी चलाउने तर भाडा समायोजन हुनैपर्ने बताए । प्रशासन, प्रहरी, यातायात व्यवस्था कार्यालय, नागरिक समाज, पत्रकार महासंघ, उपभोक्ता मञ्च लगायतका प्रतिनिधि भने मिटरमा ट्याक्सी चलाउन थाल्ने र भाडा समायोजनको प्रक्रिया अगाडि बढाउने पक्षमा देखिए ।

यातायात मजदुर संगठन पनि प्रहरीले नियन्त्रणमा लिएका आफ्ना मजदुरलाई निसर्त रिहा गरे मिटरमा ट्याक्सी चलाउन कुनै समस्या नहुने पक्षमा छन् । सहरी क्षेत्रमा जसरी पनि मिटरमा ट्याक्सी सञ्चालन गर्दै जाने र भाडा समायोजनका लागि केन्द्रमा सिफारिस प्रक्रिया पनि थाल्ने विषयमा सहमतिमा आउन स्थानीय प्रशासनको आग्रह थियो । ट्याक्सी व्यवसायी समिति लगायत यातायात व्यवसायी समितिले एक दिनको समय मागेपछि शुक्रबार ११ बजे फेरि बैठक बसेर निष्कर्ष निकाल्ने सहमतिमा बिहीबारको छलफल सकियो ।

ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले मिटरमा ट्याक्सी सञ्चालन गर्ने निर्णय आफूले गरेर जाँदा अप्ठेरो पर्ने बताउँदै कार्यसमितिमा छलफल गरेर शुक्रबारको बैठकमा उपस्थित हुने बताए । गण्डकी धौलागिरि सार्वजनिक यातायात व्यवसायी समितिका वसन्त प्रधानले मिटरमा ट्याक्सी चलाउनु पर्छ भन्ने कुरामा दुई मत नभए पनि पोखराका समस्यालाई सम्बोधन गर्नुपर्ने विचार राखे ।

कास्कीका सिडिओ तारानाथ अधिकारीले प्रशासनको काम कानुनको कार्यान्वयन गर्ने भए पनि व्यवसायीको छलफलबाटै मिटरमा ट्याक्सी चलाउन खोजिएको बताए । ‘हामीले कानुनलाई कार्यान्वयन गर्ने हो । भाडा समायोजन गर्ने अधिकार हामीलाई छैन,’ सिडिओ अधिकारीले भने, ‘तत्काल ट्याक्सी मिटरमा चलाउन सुरु गरौं र पोखराको वस्तुस्थिति हेरेर भाडा समायोजनका लागि केन्द्रमा सिफरिस गर्ने काम पनि सँगै गरौंला ।’

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह जनतालाई दुख दिने काम गर्ने कसैलाई पनि छोड्ने अधिकार कानुनले नदिएकाले आफूले कानुनको पालनामात्रै गरेको बताए । ‘हामीले कानुनले दिएको अधिकार प्रयोग गर्ने हो । त्यही गरेका हौं,’ सिंहले भने, ‘मिटरमा ट्याक्सी चलाउन सुरु गरौं अरु प्रक्रिया पनि बढाउँदै जाउँला ।’

ट्याक्सी व्यवसायी समितिका निवर्तमान अध्यक्ष गान्धीराज गिरीले मिटरमा चलाउने कुरामा समस्या नभई पोखराको हकमा कहाँ कसरी कुन हिसाबले मिटरमा चलाउने भन्ने समस्या रहेको बताए । ‘पोखराका अस्थायी सडकमा कसरी मिटरमा चलाउने ? पोखराभित्रै पनि कतै कच्ची सडक त कतै भित्री सडकको समस्या छ । पृथ्वीचोकदेखि महानगरकै निर्मरपोखरीसम्म जानुप¥यो पनि त्यहाँ मिटरमा चलाउन सम्भव छ ?’ गिरीले भने, ‘भाडा समायोजन वा यो–यो क्षेत्रमा अहिले मिटरमा चलाउने भनेर वैज्ञानिक आधार नखोजे चलाउन सकिँदैन ।’

विभिन्न कारणले मिटरमा ट्याक्सी सञ्चालन नहुनु दुखद् भएको बताउँदै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तत्काल मिटरमा ट्याक्सी सञ्चालन गर्दै अरु प्रक्रियालाई पनि सँगै लगेर राम्रो सन्देश दिन व्यवसायीसँग आग्रह गरे ।

यातायात व्यवसायीले बुधबार प्रहरी नियन्त्रणमा लिइएका ११ जना ट्याक्सी चालकलाई तत्काल छाड्न आग्रह गरे पनि उनीहरुलाई शुक्रबार थप अनुसन्धानपछिमात्रै छाडिने भएको छ । ट्याक्सी व्यवसायी समितिका ट्याक्सीबाहेक अरु यातायात व्यवसायी समितिका सार्वजनिक गाडी भने शुक्रबार चल्ने भएका छन् । बिनामिटरमा ट्याक्सी चलाउन नपाउने सिडिओ अधिकारी बताउँछन् ।

शुक्रबारको छलफलमा पोखरामा मिटरमा ट्याक्सी चलाउँदा कुनकुन आधारमा कसरी चलाउने भन्ने विषयमा निर्णय हुने नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताए । ट्याक्सी मिटरमा चलाउनेबारे पोखरामा पटकपटक यसअघि पनि प्रयास भएर पनि सफल भएको थिएन । यसपालि प्रशासन हरहालतमा ट्याक्सीमा मिटर सिस्टम लगाएर छाड्ने पक्षमा छ ।

सरकारले तोकेको भाडा दर बमोजिम मिटर सिस्टममा ट्याक्सी चल्ने हो भने यात्रु चढ्नेबित्तिकै १४ रुपैयाँ लाग्छ भने प्रति किलोमिटरको ३७ रुपैयाँ पर्छ । काठमाडौंमा यही दरमा ट्याक्सी मिटरमा चल्छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...