कोरोना भाइरस संक्रमितको जांच गर्न पोखरा विमानस्थलमा हेल्प डेस्क संचालनमा ।

अन्य

कोरोना भाइरस संक्रमितको जांच गर्न पोखरा विमानस्थलमा हेल्प डेस्क संचालनमा ।
फेब्रुवरी २ पोखरा :- कोरोना भाइरस संक्रमितको जाँच गर्न पोखरा विमानस्थलमा हेल्प डेस्क सञ्चालनमा आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सक्रियतामा शुक्रबारदेखि हेल्प डेस्क सञ्चालनमा आएको हो । चिनियाँ लगायत अन्य देशका पर्यटकलाई लक्ष्य गरी एअरपोर्टमा उपकरणसहित २ स्वास्थ्यकर्मी खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । हेल्प डेस्कमा स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको सामान्य परीक्षण गरी रगतको नमुनासमेत लिने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने, ‘शंकास्पद बिरामीलाई उपचारका लागि रेफरसमेत हेल्प डेस्कबाट हुन्छ ।’ चीनबाट सुरु भएको यो रोग विश्वका धेरै मुलुकमा फैलिएको छ । यो रोगभन्दा पनि हल्लाबाट मानिस बढी त्रसित भएकाले यससम्बन्धी जानकारी समेटिएका लिफ्लेटसमेत वितरण गरिएको आचार्यले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट बच्न र संक्रमण फैलन नदिन आपतकालीन कार्य सञ्चालन केन्द्र नै सञ्चालनमा ल्याएको छ । केन्द्रका सूचना अधिकारी तथा कोरोना फोकल पर्सनसमेत रहेका आचार्यले आइतबारबाट पोखराको लेकसाइडमा समेत हेल्प डेस्क सञ्चालनमा ल्याइने बताए । पर्यटकको बढी भीडभाड हुने वाराही चोकनजिकै हेल्प डेस्क राखिनेछ । विदेशबाट आएका पर्यटकको यात्रा विवरण लिने, चिनियाँसँगको हेलमेलबारे बुझ्ने कामसमेत हेल्प डेस्कबाट हुने अचार्यले बताए । पोखरामा रगत जाँचका किट नभए पनि शंका लागेमा रगत लिएर काठमाडौं पठाउने गरी तयारी भएको छ । गण्डकी प्रदेशका सबै स्वास्थ्य सम्बन्धित संस्थामा पत्राचार गरी यो रोगका बारेमा सचेत हुन सूचित गरिएको छ । अस्पतालमा आइसोलेसन बेड तयारी अवस्थामा राख्न, स्वास्थ्यकर्मीले अनिवार्य मास्क प्रयोग गर्न र अन्य सुरक्षाका उपाय अपनाउन सूचित गरिएको अधिकृत आचार्यले बताए । पोखरा र आसपासमा कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएका छैनन् । तर कताकति हल्ला फैलिँदा त्रास बढेको भन्दै त्रसित हुनेपर्ने अवस्था आइनसकेको निर्देशनालयले जनाएको छ । चीनबाट पर्यटक आउने क्रम रोकिएको र शंकास्पद बिरामीलाई काठमाडौंमै रोकेर आइसोलेसन शड्ढयामा राखी उपचार गरिएकाले त्रासमा नबस्न निर्देशनालयले आग्रह गरेको छ । सामान्य रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा गएर जँचाउन, तातो पानी र झोलिलो खानेकुरा बढी खान, सरसफाइमा विशेष ध्यान निर्देशनालयले सर्वसाधारणमा आग्रहसमेत गरेको छ । यसैबीच कोरोनाका कारण निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामसमेत प्रभावित भएको छ । पोखरामा कार्यरत चिनियाँ २० कामदार चीनको नयाँ वर्ष मनाउन घर गएका थिए । कोरोनाका कारण उनीहरु नफर्केको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनीहरु नेपाल फर्केमा उनीहरुलाई १ हप्ता आइसोलेसनमा राखेर बल्ल काममा खटाइने उनले बताए । एअरपोर्टमा २ सय ५० चिनियाँ कामदार कार्यरत छन् । समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...