कोभिड-१९ को आशंका लागेमा ११८० मा कल गर्न काठमाडौँ महानगर पालिकाको अनुरोध ।

अन्य

कोभिड-१९  को आशंका लागेमा ११८० मा कल गर्न काठमाडौँ महानगर पालिकाको अनुरोध ।
मार्च २१ काठमाडौँ :-काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन सबैसँग अपिल गरेका हुन् । सङ्क्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उहाँको भनाइ छ । उक्त सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले सङ्घीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु अपिल प्रमुख शाक्यको रहेको छ । उहाँले अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन पनि आग्रह गरेका छन् । जात्रा तथा पर्वमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गरेका हुन् । विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न आग्रह गरे । धार्मिकस्थलमा धेरै भीडभाड हुँदा सङ्क्रमण सर्नसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानमा समेत भीडभाड नगर्न अपिल गरिएको छ । कामपाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाइएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...