काठमाडौँमा एटीएम ह्याक प्रकरणमा अनुसन्धान गर्न भाषा नबुझ्दा कठीन ।

अपराध

काठमाडौँमा एटीएम ह्याक प्रकरणमा अनुसन्धान गर्न भाषा नबुझ्दा कठीन ।
सेप्टेम्बर ६ काठमाडौंँ:- बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ह्याक गरेर करोडौं रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शंकास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत छ । घटनामा पहिचान गरिएका ८ चिनियाँ नागरिकमध्ये ६ जना पक्राउ परे । फरार २ जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रृव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ । यसअघि पिनकोड चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । यो पटक स्विच नै ह्याक गरेर पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताए । २ जना फरार हुनु र अर्काेतर्फ भाषा नबुझ्ने समस्याले घटनाको अनुसन्धान जटिल बन्दै गएको छ । अंग्रेजी र नेपाली नजान्ने अभियुक्त छन् भने चिनियाँ भाषा प्रहरी जान्ने जनशक्ति प्रहरीमा छैन । ‘भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएको छ । समस्याका बीचबाट पनि हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने । प्रहरीले दोभाषे राखेर घटनाको अनुसन्धान गरिरहेको छ । जसका कारण अनुसन्धानका विषय चुहिनसक्ने समस्या पनि प्रहरीमाथि छ । ‘१ व्यक्तिबाट अर्काे व्यक्तिमा सूचना जाँदा केही न केही परिवर्तन हुन्छ । अहिले प्रहरीले उक्त घटनामा पक्राउ परेका चिनियाँबाट तेस्रो व्यक्तिमार्फत सूचना लिइरहेको छ । हामीले बोलेको दोभाषेले कति बुझ्छ, उसले अभियुक्तलाई कति बुझाउन सक्छ । अभियुक्तले बोलेको कुरा दोभाषेले कति बुझ्छ र हामीलाई कति बुझाउन सक्छ, यहीँनिर समस्या छ’, बोगटीले भने । प्रहरीले उनीहरुसँग लिएको प्रारम्भिक बयानमा भने घटना स्वीकार गरे पनि अन्य विवरण भने प्रस्टसँग खुलाएको छैन । घटनाको थप कारण पत्ता लगाउन परिसरले इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)समेत अनुसन्धानमा खटिएको छ । अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । विश्वभाषा क्याम्पसबाट पनि आवश्यक सहयोग लिइएको छ । विशेषज्ञको उपस्थितिमा काम गर्नुपर्ने भएकाले पनि जटिलता आइरहेको प्रहरीले जनाएको छ । नेपालको बैंकिङ प्रणालीमा नै सशंकित पार्ने गरी गत शनिबार काठमाडौंमा उक्त घटना भएको थियो । अपराह्न पटक पटक गरी १ करोड ८९ लाख रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरंगित भएको हो । ७ वटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ । एटिएमका गार्डले विदेशी नागरिकको शंकास्पद गतिविधि देखेपछि बैंकमा खबर गरेका थिए । सोही सूचना बैंकमार्फत आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झु लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पारेका थिए । खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम निकालेको रहस्य खुल्यो । भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो । होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा ४ ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । प्रहरी जुन लिफ्टबाट ६ तलामाथि चढ्दै थियो ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए । एटिएम बुथबाट झु लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए । चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्ने क्रममा आइतबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा झण्डै २ करोड निकालेका थिए । प्रहरीले मगायो विज्ञ टोली प्रहरीले घटना अनुसन्धानका लागि सूचना प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ । सबै मनिटर गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ । ‘आर्थिक सम्बन्धीको ठूलो मुद्दा भएकाले मुख्य निरीक्षण राष्ट्र बैंकले नै गर्ने हो । त्यसैले हामीले विज्ञ टोली उपलब्ध गराइदिन अनुरोध गरेका छौ,’ प्रनाउ बोगटीले भने । प्रहरी प्रधान कार्यालयका आइटी विज्ञको टोलीसमेत घटनाको अनुसन्धानमा सक्रिय छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको छानबिन गरिरहेको बताउँदै त्यसको रिपोर्टपछि सबै कुरा खुल्ने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...