कास्कीको मादी गाउँ पालिकामा ब्याच ,खादा र अबिरको प्रयोग नगर्ने |

अन्य

कास्कीको मादी गाउँ पालिकामा ब्याच ,खादा र अबिरको प्रयोग नगर्ने  |
साउन ८ पोखरा: -जब कार्यक्रम सुरु भयो, अतिथिहरुलाई ब्याच वितरण गरिएन, खादा लगाइएन । वक्ताहरुले मञ्चमा आसिनजति सबैलाई सम्बोधन गरेनन् । पुरस्कृत र सम्मानितहरुलाई खादा र अबिर लगाइएन । अतिथि र सम्मानितहरुको गलामा गाउँकै सयपत्री फूलको माला मात्रै सजियो । अक्सर यस्ता दृश्य दुर्लभ हुन्छन्, तर कास्कीको मादी गाउँपालिकामा भने अब सधै यस्तै हुनेछ ।

न अतिथिहरुको अनुहार खादैखादा लगाएर छोपिनेछ, न गाउँमा फूल भएन भने पनि बजारबाट किनेर लगेर लगाइने छ न त अबिरले अनुहार पोतिनेछ । गाउँपालिकाले त्यस्तो नगर्ने भनेर कानुनै बनाएको छ ।

सामाजिक सुधार तथा सर्च मितव्ययितासम्बन्धी कार्यविधि नाममा गाउँपालिकाले कानुन बनाएको हो । बजेट सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममै उक्त कार्यविधि लागू गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले सुनाए । स्थानीय चाडपर्व, उत्सव, महोत्सव लगायत विभिन्न समूहमा केन्द्रित भई गरिने सामाजिक क्रियाकलापमा फजुल खर्च र अनावश्यक तडकभडक नगर्न यस्तो कार्यविधि बनाइएको उनले बताए । गाउँपालिकाले यो आर्थिक वर्षका लागि हालै पारित बजेट सार्वजनिक समारोहमा गाउँपालिकाका वडालाई जग्गादान गरेका, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा उल्लेख्य योगदान गरेका र मादी जन्मभूमि भएर उत्कृष्ट कार्य गरेकाहरुलाई सम्मानित ग¥यो । सम्मानपत्र र माला त प्रदान ग¥यो, तर अबिर दलेन । उक्त कार्यक्रमका मुख्य अतिथि प्रतिनिधि सभा सांसद खगराज अधिकारी र प्रदेश सांसद मनबहादुर गुरुङलाई मायाको चिनोस्वरुप गाउँकै जंगलतिर उम्रिएको सिस्नोबाट गाउँमै बुनेको भांग्रा उपहार दियो । भांग्रा गुरुङ जातिको पोसाक हो । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन आजैबाट सुरु गरेका छौं’, गाउँपालिका अध्यक्ष बेदबहादुरले भने । उनकै भनाइमा कार्यक्रमका अतिथिलाई लगाइएको माला गाउँपालिकाकै वडा नम्बर २ ताङतिङमा आमा समूहले उत्पादन गरेको फूलबाट बुनिएको हो । अध्यक्ष गुरुङले गाउँपालिकाले बनाएको कार्यविधि निजी क्षेत्र र गैरसरकारी संस्थाले पनि पालना गर्नुपर्ने बताए । लम्बेतान भाषण नगर्ने थिति बसाउन उक्त कार्यविधिमा भनिएको छ, ‘एउटै क्षेत्र र पक्षका एक वक्ताले मात्र, अर्को वक्ताको कुरा नदोहोर्याइ आफ्नो भनाइ राख्नुपर्नेछ, भाषण र वक्तव्य सकेसम्म लिखित वाचन गर्ने र छोटो र शिष्ट भाषमा हुनुपनुपर्नेछ ।’अक्सर निर्धारित समयमा कार्यक्रम सुरु नहुने र नसकिने पनि नेपाली समाजमा झ्यांगिएको अर्काे रोग हो । त्यसलाई पनि मादी गाउँपालिकाको कार्यविधिले सम्बोधन गरेको छ । ‘निर्धारित समयमानै कार्यक्रम सुरु गरी अन्त्य गर्नुपर्ने छ’, कार्यविधिमा भनिएको छ । चिया, खाजा, खाँदा प्रयोग हुने गिलास तथा प्लेटहरु वातावरण मैत्री हुनुपर्ने र कार्यक्रम सकेपछि सबै फोहोर मैलाको व्यवस्थापन गरी सरसफाइ आयोजकले गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । दुना टपरी लगायत विभिन्न स्थानीय सामग्री पुवा, उन, आदिबाट बनेका मौलिकता झल्कने उपहार र खादा फूलको माला उत्पादन गर्न प्रोत्साहित गर्ने नीति गाउँपालिकाले लिएको छ । कार्यविधि पालना भए नभएको अनुगमन सुपरिवेक्षणमा जोड दिने गाउँपालिका अध्यक्ष गुरुङले सुनाए । ‘कार्यविधिमा उल्लेखित नियमको उल्लंघन गरे सम्बन्धित, व्यक्ति, संस्था, पदाधिकारीलाई कारबाही गर्न सकिनेछ’, उनले भने, ‘लिखित स्पष्टीकरण माग गर्र्ने, सचेत गराउने, गाउँपालिका, वडाबाट प्रदान गर्ने सबै सेवा रोक्का गर्ने र कार्यपालिकाको निर्णयअनुसारको कारबाही गरिनेछ ।’ साभार :-छ्याजलो डटकम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...