हिन्दु राज्यको लागि आफैले गोलि हान्न लगाए ,नेपाल प्रहरी |

अन्य

हिन्दु राज्यको लागि आफैले गोलि हान्न लगाए ,नेपाल प्रहरी |
मे ७ काठमाडौं:- एक महिनाअघि विराटनगरको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका धर्मगुरु भनिने श्रीनिवास आचार्यले नै आफूलाई गोली हान्न लगाएको रहस्य अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ। उक्त रहस्य खुलेपछि उनलाई प्रहरीले सोमवार काठमाण्डूबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए। उनका अनुसार गोलीकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका चितवन भरतपुरका माधव चौधरी र नवलपरासी गैँडाकोटका लक्ष्मीराज अधिकारीले श्रीनिवास आचार्यकै सल्लाहमा आफूहरूले उनीमाथि गोली हानेको प्रहरीलाई बयान दिएका छन्। आचार्यलाई गोली हान्ने चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। हिन्दु राज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएकाले जनता र धर्मगुरुहरूलाई उक्साउन उक्त गोलीकाण्डको योजना बुनिएको उनीहरूले प्रहरीलाई बताएका छन्। आचार्यकै आग्रहमा आफूले गोलीसहित पेस्तोल उनलाई पठाएको र माधव चौधरीले गोली प्रहार गरेको बयान अधिकारीले दिएको प्रहरीको भनाइ छ। चौधरीलाई उद्धृत गर्दै आचार्यले नै गोली हान्ने तरिका सिकाएको प्रहरीले जनाएको छ ।

विगत

गत २०७४ साल चैत्र २५ गते विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भागवत् सप्ताह पुराणका लागि प्रमुख वाचकका रूपमा आएका ३१ वर्षीय आचार्यमाथि सोही दिन राति गोली प्रहार भएको थियो।उक्त घटनाको विरोधमा देशका कैयौँ ठाउमा प्रदर्शन पनि भएका थिए। दाहिने छातीमा गोली लागेका आाचार्य करिब तीन साताको उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए। पक्राउ परेका आचार्यमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ। नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय रहेको बताइएको छ। बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए। बीबीसी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...