हैदराबादमा बलात्कार पछि हत्याको आरोपमा पक्राउ गरेका चार जनालाई प्रहरीले गोली हानेर मारे ।

विदेश

हैदराबादमा बलात्कार पछि हत्याको आरोपमा पक्राउ गरेका चार जनालाई प्रहरीले गोली हानेर मारे ।
डिसेम्बर ७ एजेन्सी:-भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो । ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो । शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो । घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा दुई जना प्रहरीहरु पनि घाइते भएको जनाइएको छ । गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो ।

घटना के भएको थियो?

हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन् । उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो । त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ । रात परिसकेको थियो । नजिकै वर्कसप थिएन । उनी त्यहीँ अड्किएकी थिइन् । प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो । उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु । केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी थाल्यो । रातभरि केही पत्ता लागेन । बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए । प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो । घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए । प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...