एक करोड ठगेरा एमाले युवा संघका केन्द्रिय सदस्य फरार ।

अपराध

एक करोड ठगेरा एमाले युवा संघका केन्द्रिय सदस्य फरार ।

सेप्टेम्बर १८ काठमाडौँ :- करिब एक करोड रकम उठाई फरार भएका एमाले समर्थित युवा सङ्घका एक कार्यकर्ताबाट पीडित युवाहरूले सञ्चार माध्यममार्फत आफ्ना पीडा पोखेका छन् ।युवा सङ्घका गण्डकी अञ्चल सचिवालय सदस्य विष्णुप्रसाद पाठकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया हुँदै जर्मनी पठाइदिने भन्दै रकम उठाई गत कात्तिकदेखि फरार भएका हुन् । वालिङ नगरपालिका १३ स्याङ्जाका पाठकले संयुक्त राष्ट्रसङ्घको स्वयम्सेवी कामदार बनेर दक्षिण कोरियामा तीन महिना र त्यसपछि जर्मनीमा काम गर्ने आश्वासन देखाई युवाहरूसँग पैसा उठाएका थिए ।

फरार पाठकले २० जना युवासँग प्रति व्यक्ति चार लाख तीन हजार रुपियाँ उठाएका थिए । पीडित युवाहरूले सरकारी वकिलको रोहबरमा कागज गरी रकम बुझाएका थिए । गत वर्षको असार १५ मा विदेश उड्ने समयसीमा दिएको पीडितहरूले बताए । तर पाठकले दिएको समयमा युवाहरू उड्न पाएनन् । तर पाठकले ढिलो होला तर काम हुन्छ भन्दै अल्झाइराखे । पाठकले युवाहरूलाई विश्वास दिलाउन चारवटा बैङ्कका तीन महिनापछिको मिति राखी चेक पनि दिएका थिए । पाठकको शङ्कास्पद गतिविधिले युवाहरूमा विदेश जाने मोह भङ्ग भयो । युवाहरूले पाठकसँग दिएको रकम फिर्ता माग्न सुरु गरे । अन्तिम पटकलाई भन्दै कात्तिक १ लाई समय निर्धारण गरियो । अफसोच, पाठकको मोबाइल कात्तिक १ गतेको मध्यान्हबाट स्विच अफ भयो । पाठकले दिएको चेक बाउन्स भयो । पाठकद्वारा उठाइएको रकम र ब्याज गरी ९२ लाख ५० हजार रुपियाँ युवाहरूलाई चुक्ता गर्ने कागज गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयका निमित्त सीडीओ यमप्रसाद सुवेदीले पीडितहरूले जाहेरी दिएको जानकारी नभएको बताए । सुवेदीले ठगीको विषय वैदेशिक रोजगार विभागसँग सम्बन्धित रहेकाले विभागमा सम्पर्क गर्न युवाहरूलाई सुझाए । पाठकले युवाहरू साथै आफ्नै दलका सदस्यहरूलाई पनि ठगेको भेटिएको छ । युवासङ्घ स्याङ्जाका अध्यक्ष दामोदर तिवारीले विभिन्न प्रलोभनमा पारेर आफ्नो तीन लाख रुपियाँ ठगेको बताए । त्यस्तै युवासङ्घका केन्द्रीय सदस्य भरत गोदारको छ लाख २० हजार रुपियाँ पाठकले ठगेका छन् । विभिन्न युवा तथा आफ्नै दलका कार्यकताको समेत रकम उठाई फरार भएका पाठकलाई युवा सङ्घले कारबाहीको प्रक्रिया अघि बढाएको तिवारीले जानकारी दिए ।

ललितपुरमा अध्यापन गरिरहेका गुल्मी हर्मीचौरका रामप्रसाद पाण्डेयका सहोदर दाजुभाइले पाठकका कारण करिब १२ लाख गुमाएका छन् । आफन्तको विश्वास पीडामा बदलिएको भन्दै पाण्डेयले दुःख व्यक्त गरे ।फरार पाठकले स्याङ्जा, पाल्पा र गुल्मीका युवाहरूसँग रकम उठाएका थिए । संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आफ्नो दाइ कार्यरत रहेको बताउँदै उनले पैसा उठाउने गरेका थिए । मासिक कमाइ तथा खानबस्न राष्ट्र सङ्घको मापदण्ड अनुसारको हुने भन्दै युवाहरूलाई रोजगारीको झुठो प्रलोभनमा देखाएका थिए ।

पाठकले स्याङ्जा गल्याङका मिलन सापकोटा, नारायण भट्टराई, रमेश भट्टराई, सन्दीप ज्ञवाली र तिलकराम अधिकारीलाई ठगेका थिए । त्यस्तै सोही ठाउँका गोविन्द अर्याल, हेमप्रसाद भट्टराई, मोतीलाल बस्याल, विष्णुप्रसाद न्यौपाने र केशव पाठकसँग पनि रकम लिएका थिए । पाठकले हुँगी पाल्पाका अमृत अर्याल, राजु अर्याल, गणेश पाठक, नारायण अधिकारी र छविलाल अर्याललाई पनि ठगेका छन् । स्याङ्जा सिर्सेकोटका भुपराज डुम्रे, फापरथुमका सुवास ढकाल, गुल्मी हर्मीचौरका रामप्रसाद पाण्डेय र विष्णुप्रसाद पाण्डेय पनि पाठकद्वारा पीडित व्यक्तिहरू हुन् ।

ratopati


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...