चितवनमा २ महिनामा ३ बलात्कारका घटना दर्ता ।

अपराध

चितवनमा २ महिनामा ३ बलात्कारका घटना दर्ता ।
मे ६ भरतपुर:-चितवनमा पछिल्लो समय किशोरी बलात्कारका घटनाहरु बढेका छन् । बलात्कृत बालिकाहरु १५ वर्ष मुनीका रहेका माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिए । खैरहनीमा दुई वटा घटना भएको र केही दिन अगाडि मात्रै कालिका नगरपालिकामा एउटा घटना भएको गिरीको भनाइ छ । बलात्कारमा परेका किशोरीहरुलाई माइती नेपाल चितवन शाखाले आश्रय दिने गरेको भएपनि केहीलाई उनीहरुको इच्छा अनुसार घर समेत पठाइएको छ । कालिका नगरपालिकाकी १४ वर्षीया किशोरीलाई विगत चार वर्षदेखि आफ्नै बाबुले बलात्कार गरेको उजुरी पछि चैत २० गते उनका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । आमा वैदेशिक रोजगारमा भएको मौका छोपी बाबुले बारम्बार आफूलाई बलात्कार गर्ने गरेको बालिकाले बताएकी गिरीले जानकारी दिए । ती किशोरीकी आमा वैदेशिक रोजगारबाट फर्किएपछि बालिका आमासँगै घरमा जान इच्छा देखाएका कारण आइतबार बालिकालाई आमाको जिम्मा लगाइएको गिरीले बताए । त्यस्तै, केही दिन अगाडि खैरहनी नगरपालिकामा समेत बाबुबाट किशोरी बारम्बार बलात्कारमा परेको घटना सार्वजनिक भएको थियो । घटनाको केही दिनपछि बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ भने ती किशोरीलाई माइती नेपालमा राखिएको छ । उनलाई माइती नेपालले काठमाडौंमा सञ्चालन गरेको विद्यालयमा भर्ना गरेर त्यहीँ पढ्ने व्यवस्था समेत गरिएको गिरीले बताए । बाबुबाटै बलात्कारमा परेकी खैरहनीकी अर्की किशोरी भने माइती नेपाल चितवनमै आश्रय लिएर बसेकी छिन् । उनलाई घरमा कसैले पनि लैजान नचाहेका कारण माइती नेपालमा नै राखिएको गिरीले बताए । समाजमा बलात्कारको घटना बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्नका लागि सबै सचेत हुनुपर्ने गिरी बताउँछन् ।       साभार ;-नारायणी न्युज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...