चिसोको कारण मतपेटिकाको कुरुवाहरुलाई समस्या |

अन्य

चिसोको कारण मतपेटिकाको कुरुवाहरुलाई  समस्या |

डिसेम्बर २ पोखरा :-जिल्ला समन्वय समिति मुस्ताङको कार्यालयमा भण्डारण गरी राखिएको मतपेटिका रेखदेख गर्ने कुरुवालाई माइनस डिग्री तापक्रमको चिसोले सकस पारेको छ ।प्रतिनिधि र प्रदेशसभाका लागि मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भइसक्यो । मतपेटिका कुर्न दलका प्रतिनिधि जिसस कार्यालयमै छन् । मुस्ताङ जिसस कार्यालयमा राखिएका मतपेटिकाको निगरानी गर्ने सुरक्षाकमी र राजनीतिक दलका कुरुवालाई माइनस तापक्रमको चिसोले असहज बनाएको छ ।

थासाङ गाउँपालिका २ कोबाङका निशान तुलाचन लुगलुग काँप्दै मतपेटिका कार्यालय भएको जिससमा धर्ना दिइरहेका देखिन्थे ।उनले चिसो मौसमले मतपेटिकाको संरक्षणमा ड्युटी दिन गाह्रो परेको सुनाए ।‘१८ घन्टा ड्युटी दिइयो,६ घन्टा बाँकी छ,’उनले भने, ‘यसपटकको चुनावले जनतालाई सास्ती दिएको छ,एकैपटकमा चुनाव भएको भए यो समस्या पर्ने थिएन ।’जिसस कार्यालयको पेटीमा कम्बल ओछ्याई सिरक ओढेर बसेका अर्का प्रतिनिधि सुमित गौचनले हिउँदै निर्वाचनले मतदातादेखि सबैलाई सास्ती तुल्याएको बताए । ‘तापक्रम माइनस छ,चिसोले मुटु नै हल्लाउँछ,’ उनले भने, ‘यहाँ हिटर पनि छैन,आगो ताप्नु पनि छैन,सिरक खापेर बस्नु परेको छ ।

जिससको कार्यालयको भित्री पेटिमा दिउँसै सिरक आढेर बसेका मार्फाका सन्तोष परियारले जाडोले गर्दा मतपेटिका कुरुवा बस्न समस्या परेको सुनाए । ‘१ दिन होइन ,२ दिन होइन,१० दिन सम्म कुरुवा बस्नेलाई समस्या परेको छ,’उनले भने, ‘हिमाली र उच्चपहाडी जिल्लामा पछि निर्वाचन गरेको भए बेस हुन्थ्यो,बेशीतर्फ यस्तो समस्या छैन।’मार्फाकै अर्का कुरुवा सन्दीप परियारले २४ घन्टाको रोटेसन गरेर मतपेटिकालाई धर्ना दिई बसेका छौं,सबै पार्टीका कार्यकर्ताले चिसोको सास्ती व्यहोर्नुपरेको छ,’परियारले भने, ‘यस्तो किसिमको चुनाव कहिल्यै व्यहोरेका थिएनौं,निर्वाचन आयोगले यतिलामो समयको फरकमा निर्वाचन गर्नु राम्रो लागेन ।

पहिलो चरणमा भएको हिमाली र उच्चपहाडी जिल्ला अन्तर्गत ३२ जिल्लाका ३७ निर्वाचनक्षेत्रमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भएको हो ।मुस्ताङको ३७ मतदानकेन्द्रमा भएको शान्तिपूर्ण मतदानको सम्पूर्ण मतपेटिका ११ गते साँझ सदरमुकाम जोमसोम आइपुगेका थिए ।

१ प्रतिनिधि र २ प्रदेशसभा भएको मुस्ताङको ३७ मतदानकेन्द्रमा भएका मतदानको १ सय ११ मतपेटिका जिल्ला समन्वय समितिमा भण्डारण गरेर राखिएको छ ।भण्डारण गरिएका मतपेटिकाको मूलकोठामा नेपाली कांग्रेस र नेकपा एमालेले ताल्चा लगाएका छन् । मुख्य निर्वाचन कार्यालयले पनि ताल्चा लगाएको छ ।

सम्पूर्ण मतपेटिका रुजु गरेर सुरक्षित रुपमा ताल्चा लगाई लाहा छाप लगाइएको र मतपेटिका रहेको कार्यालयलाई नेपाली सेना र नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरीले निगरानी गरिरहने भएकाले मतपेटिकाको संरक्षकमा कुनै कठिनाई नभएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपेटिका जिसस कार्यालयमा थन्क्याएको पनि ६ दिन बितिसकेको छ ।यता निर्वाचनमा कसले बाजी मार्ला भन्ने जोडघटाउ समेत सुरु भएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...