ईंग्ल्याण्डद्वारा पाकिस्तान पराजित

खेलकुद

ईंग्ल्याण्डद्वारा पाकिस्तान पराजित
एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने । मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनको योगदान दिए । मोर्गनको यो १४ औं टि२० आई अर्धशतक हो । डेविड मलान ३६ बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहँदै जित पक्का गरे । तेस्रो विकेटका लागि मोर्गन र मलानले १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि जित सहज बनेको थियो । ओपनर जोनी बेयरस्टो र टम ब्यान्टनले उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर शादब खानको सातौं ओभरको दोस्रो बलमा जोनी बेयरस्टो ठूलो सट खेल्नेक्रममा टप एज लागेर इमाद वासिमबाट २४ बलमा ४ चौका र २ छक्का सहित ४४ रनमा आउट भए । लगत्तै अर्को बलमा ब्यान्टन २० रनमा एलबिडब्लू आउट भए । ब्यान्टनले १६ बलमा १ छक्का प्रहार गरे । कप्तान मोर्गनलाई हरिस रउफले १७ औं ओभरको पाँचौ बलमा वैकल्पिक फिल्डर खुशदिल शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । शादब खानले मोईन अलीलाई १ रनमा क्याच आउट गराए । साम बिलिंग्स १० रनमा क्याच आउट भए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । हरिस रउफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङ गरेका मोहम्मद हफिज ३६ बलमा ५ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । हफिजले आफ्नो टि२०आई करिअरको १२ औं अर्ध शतक २६ बलमै पूरा गरेका थिए । हफिजलाई अन्तिम ओभरको पाँचौ बलमा टम करनले कप्तान ओइन मोर्गनबाट क्याच आउट गराएका थिए । पाकिस्तानलाई ओपनर बाबर आजम र फखर जमानले पहिलो विकेटका लागि ८.३ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेल्ने धुनमा फखर टम ब्यान्टनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । फखरले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । बाबरलाई १३ औं ओभरको चौथो बलमा आदिलले नै साम विलिंग्सको हातबाट ५६ रनमा समताए । बाबरले ४४ बलमा ७ चौका प्रहार गरे । उनको यो टि२० आई करिअरको १४ औं अर्ध शतक हो । हफिज र बाबरले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । हफिजले शोएब मलिकसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेपछि विशाल योगफलको आधार बनेको थियो । हफिज पाकिस्तानबाट शोएब मलिकपछि टि२० आईमा २ हजार रन पूरा गर्ने मात्र दोस्रो ब्याट्सम्यान बनेका छन् । क्रिस जोर्डनले १७ औं ओभरको तेस्रो बलमा शोएब मलिकलाई ११ बलमा १ चौका सहित १४ रनमा क्याच आउट गराए । इफ्तिखर अहमद ९ बलमा ८ रन जोड्दै नटआउट रहे । इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र टम करनले १–१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुन पुगेको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...