पिसिआर परीक्षणमा पनि भनसुन !

स्वास्थ्य

पिसिआर परीक्षणमा पनि भनसुन !
१४ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन हुने गरेको खुलासा भएको छ । स्वंय सरकारी अधिकारीहरुले यसको खुलासा गरेको हो । भनसुनका आधारमा पिसिआर परिक्षण गर्नेको संख्या बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे । “भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन”, उनले भने, “त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ ।” कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनले आग्रह गरे । शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ । पिसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पिसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले रु पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन् । मन्त्रालयले पिसीआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न÷नगराउन उहाँले सबैलाई अनुरोध गरे । नेपालमा हालसम्म छ लाख ६९ हजार ६२६ जनाको पिसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमण देखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...