सेमिफाईनल पुगिसकेको जमैका ७ विकेटले पराजित

खेलकुद

सेमिफाईनल पुगिसकेको जमैका ७ विकेटले पराजित
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ । तीव्र गतिका बलर ओशान थोमसले पहिलो ओभरको पहिलो बलमै ओपनर जोनसन चाल्र्सलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । इनसाइड एज लागेर बोल्ड आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर प्रेस्टन म्याकस्वीनले दोस्रो ओभरको दोस्रो बलमा शम्राह ब्र्रूक्सलाई ५ रनमा बोल्ड आउट गर्दै जमैकालाई राम्रो सुरुवात दिलाए । तर बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा सन्दीपले होल्डरलाई ६९ रनमा एलबिडब्लू आउट गर्दै जमैकालाई खेलमा फर्काउन प्रयास गरेपनि अन्य बलरको साथ पाउन सकेनन् । होल्डरले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै जितको आधार तय गरे । कार्टर ४४ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे । सन्दीपले ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । ओशान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए । त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा राशिद खानले रसेललाई विकेटकिपर जोनसन चाल्र्सबाट स्टम्पिङ आउट गराएका थिए । त्यसअघि राशिदकै १८ औं ओभरको अन्तिम बल ठूलो सट खेल्ने धुनमा रसेल मिस हुँदै स्टम्पमा लागेपनि बेल नखस्दा आउट भएनन् । जमैकाले ओपनर जर्मेन ब्ल्याकवुडलाई पहिलो पटक ओपनिङ गराएको थियो । टि२० क्रिकेटमा पहिलो पटक ओपनिङ गरेका ब्ल्याकवुडले उत्कृष्ट ब्याटिङ गर्दै सिपिएलमा पहिलो अर्ध शतक प्रहार गरे । ब्ल्याकवुडले ७४ रनको महत्वपूर्ण इनिङ खेले । १७ औं ओभरको चौथो बलमा कप्तान जेसन होल्डरले बोल्ड आउट गर्नुअघि ब्ल्याकवुडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । जमैकालाई ओपनर ब्ल्याकवुड र ग्लेन फिलिप्सले ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आठौं ओभरको तेस्रो बलमा फिलिप्सलाई जोशुवा विशोपले १७ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । १३ औं ओभरको तेस्रो बलमा आसिफ अलीलाई हेडन वाल्शले जोनसन चाल्र्सको हातबाट ५ रनमा समाताए । त्यसपछि मैदानमा आएका रसेलले ब्ल्याकवुडसँग मिलेर तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । कप्तान रोभमान पवेल ५ रनमा अविजित रहे । बार्बाडोसका जोशुवा विशोप, हेडन वाल्श, जेसन होल्डर र राशिद खानले एक एक विकेट लिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...