श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

रोजगार    विदेश

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
२० भदौ, काठमाडौं । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताउनुभयो । अहिले मलेसिया, कतार, साउदी अरब, यूएईलगायतका देशबाट भन्दा पनि युरोपेली देश माल्टा, रोमानिया, पोल्यान्डजस्ता देशबाट माग आउने सम्भावा देखिएको र ती देशले थोरै अनि दक्ष श्रमिकको माग गरे पनि दक्ष श्रमिकले राम्रो आम्दानी गर्नसक्ने भएकाले हाम्रो ती देशमै श्रमिक पठाउन बढी जोड रहेको महानिर्देशक दाहालको भनाइ छ । ती देशका रोजगारदाता नेपालबाट दक्ष श्रमिक लैजाने विषयमा सकारात्मक रहेको तर ती देशले यति सङ्ख्याका श्रमिक लिन्छन् भन्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नुभयो । विभागका महानिर्देशक दाहालले भने कोभिड–१९ पछि विदेशमा धेरै उथलपुथल भइसकेकाले ती आएका मागमा १० देखि २० प्रतिशतसम्म मात्रै जान पाउने बताउनुभयो । स्वदेशमा रोजगारी नभएको अवस्थामा हाम्रा लागि त आएका सबै मागमा बेरोजगारलाई रोजगारीका लागि पठाउन सकेमा राम्रो हुने थियो तर यी मागमा १०÷२० प्रतिशत जाने सम्भावना न्यून भएको छ, उहाँले थप्नुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...