विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने सरकारको तयारी

देश    राजनीति

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने सरकारको तयारी
१४ भदौ, काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएको छ। उर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी गरेको हो। घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिदैछ। तर, फेरि पनि उनलाई नै निरन्तरता दिने प्रस्ताव उर्जा मन्त्रालयले तयार पारेको हो। उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेका छन्। “प्रधानमन्त्री ओली कुलमान घिसिङलाई नै निरन्तरता दिन तयार हुनुभएको छ”, मन्त्री पुनका सचिवालयका एक सदस्यले भने। तर, पुनः नियुक्त भएपछि घिसिङले सरकारको प्रणाली पालना गर्नुपर्ने प्रधानमन्त्री ओलीले सर्त राखेका छन्। “विद्युत प्राधिकरण र त्यहाँ नियुक्त हुने व्यक्ति सरकारकै अंग हुन् भन्ने तथ्य भुल्न चाहिँ भएन”, प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै स्राेतले बताएको छ । मन्त्री पुनले यसबारे नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समेत सल्लाह लिएका छन्। घिसिङलाई निरन्तरता दिन अध्यक्ष दाहाल सहमत भएका छन् । “धेरैको माग पनि घिसिङ नै हुनुपर्छ भन्ने छ, यस्तो बेला अर्काे विकल्प खोज्नु राम्रो होइन”, दाहालले मन्त्री पुनसँग भनेका थिए। मन्त्रालय स्रोतका अनुसार, घिसिङलाई नै निरन्तरता दिनेगरी तयार भएको प्रस्ताव मन्त्रिपरिषदमा पठाउन भने बाँकी छ। “कहिले पठाउने भन्ने निश्चित भइसकेको छैन, तर प्रस्ताव तयार भइसक्यो”, स्रोतले भने। मंगलबारको मन्त्रिपरिषद बैठकबाटै घिसिङलाई निरन्तरता दिइएको भन्ने प्रचारको भने सरकारले खण्डन गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार नभएको बताएका थिए। साभारः हिमाल खबर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...