विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने सरकारको निर्णय

देश

विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने सरकारको निर्णय
१५ भदौ, काठमाडौं । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको बताए । यस्तै सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने  अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको खतिवडाले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...