रोनाल्डोबिनै पोर्चुगलको सानदार जीत

खेलकुद

रोनाल्डोबिनै पोर्चुगलको सानदार जीत
एजेन्सी – स्टार कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ । झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ औं मिनेट कुर्नुपरेको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नै तीन पटक क्रसबारमा प्रहार गरेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो । वल्भ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका डीओगो जोटाले ५८ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए । ७० औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको पासमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । खेलको ९० औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे । कप्तान क्रिस्टियानो रोनाल्डोले बुढी औंलामा सामान्य चोट लागेका कारण यो खेल गुमाएका थिए । यता क्रोएसियाका लागि लुका मोड्रीच र इभान राकीटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो । रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...