रातो मच्छिन्द्रनाथको रथ आज तानिने

देश    समाज

रातो मच्छिन्द्रनाथको रथ आज तानिने
२१ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा छ । त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए । विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्थ्यो । रथ जावलाखेल पुर्याएको दिन भोटो देखाउने जात्रा हुन्थ्यो । जात्रामा राष्ट्राध्यक्षसमेत सहभागी हुने परम्परा छ । तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण भोटो देखाउने जात्रा हुने छैन । मच्छिन्द्रनाथको रथ गत साउन १० गते पुल्चोकमा ठड्याए पनि कोरोना संक्रमणको जोखिमका कारण तानिएको थिएन । रथ तान्न दबाब दिने उद्देश्यले पुल्चोकमा भेला भएका स्थानीय युवा र प्रहरीबीच तीन दिनअघि झडप भएको थियो । स्थिति असामान्य भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथ भित्रको क्षेत्रमा कर्फ्युसमेत लगाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...