मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

देश    स्वास्थ्य

मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए । भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको प्रजिअ गिरीले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ । ‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ,’ मेडिकल अधिकृत डा. अधिकारीले भने । उनका अनुसार दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा संक्रमितको संख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये आज दुई जनामा संक्रमण पुष्टि भएको हो । मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए । त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवाहरु यही भदौ १५ सम्मलाई स्थगित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...