मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु हुने

देश

मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु हुने
१४ भदौ, काठमाडौं । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तरराष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ । सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिनुभयो । विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उहाँले बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...