भाईरल बनेको पुन नियुक्तिको खबरबारे कुलमान स्वंय नै बेखबर

देश

भाईरल बनेको पुन नियुक्तिको खबरबारे कुलमान स्वंय नै बेखबर
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंगलबार राति ब्याट्री सकिएपछि मोबाइल स्वीच अफ गरेका थिए। बिहान जसै उनले मोबाइल खोले, एकोहोरो म्यासेज आउन थाले। ती म्यासेजमा बधाईको ओइरो थियो। सामाजिक सञ्जाल र केही अनलाइनमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई फेरि प्राधिकरणको एमडी नियुक्त गरेको समाचार आएका थिए। 'त्यही भएर बधाई आएको रैछ। ट्वीटरमा पनि मेरो नामबाट कसैले एकाउन्ट खोलेको रैछ,' बुधबार बिहान सेतोपाटीसँग कुरा गर्दै  घिसिङले भने,' ट्वीटरमा त मेरो एकाउन्ट छैन। फेसबुक पनि निकै कम चलाउँछु। केहीबेर अघिमात्र यो मेरो आधिकारिक एकाउन्ट हो भनेर लेखेको छु। अहिले धेरै मान्छेले हिजो कुरा होइन भन्ने थाहा पाउनु भएछ।' आगामी भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई सरकारले फेरि प्राधिकरणको एमडी बनाउँछ कि बनाउँदैन भन्नेमा आमनागरिकको व्यापक चासो छ। कतिले सामाजिक सञ्जाल फेसबुकमा 'तिमी छौ र त उज्यालो छ'  लेखिएको उनको तस्बिर प्रोफाइल पिक्चर बनाउन थालेका छन् भने ट्वीटरमा ब्रिंगब्याक कुलमान भन्ने ह्यासट्याग चलेको छ। विद्युत प्राधिकरणमा कुलमान नै चाहिन्छन् भनेर बनेका गीत पनि युट्युबमा अपलोड भएका छन्। उनले प्राधिकरणको संरचना र स्रोतको परिचालनमा आफूले इमान्दारीसाथ काममात्र गरेको बताए। 'मैले पहिलादेखि नै भन्दै आएको छु-प्राधिकरण सरकारको एउटा अंग हो। यसको आफ्नो संरचना छ। सरकारका नीतिअनुसार त्यो संरचनाले काम गर्छ। मैले त्यही नीति र संरचनामा आफूलाई दिएको जिम्मेवारी पूरा गरेको हुँ। त्यसैले यो सरकारको सफलता हो, यसको श्रेय सरकारलाई जान्छ,' घिसिङले भने। सरकारले 'राइट म्यान इन राइट प्लेस'अनुसार आफूलाई प्राधिकरणको जिम्मा दिएकाले अहिलेको नतिजा आएको उनले बताए। 'सबैलाई थाहा भएकै कुरा हो- कुनै पनि संस्थामा ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ले राम्रो नतिजा दिन्छ। संरचना र स्रोत नभइकन त नतिजा आउँदैन। त्यसैले मैले सरकारको नीतिअनुसार प्राधिकरणको संरचनालाई इमानदारीपूर्वक चलाएको हो,' घिसिङले भने। आफ्नो चार वर्षे कार्यकालमा लोडसेडिङ हटेको र प्राधिकरणको आर्थिक अवस्था घाटाबाट नाफामा गएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए। 'अहिले प्राधिकरणप्रति आममानिसमा विश्वास छ। निरन्तर घाटामा गइरहेको संस्थाका लागि विश्वास ठूलो कुरा हो तर अझै पनि फड्को मार्न बाँकी छ। प्राधिकरणले आफ्नो संरचना परिवर्तन गरी सेवा डिजिटाइजेसन र अटोमेसन गर्ने, गुणस्तर बढाउने, विद्युत प्रवाहलाई अझै भरपर्दो बनाउनु पर्नेछ,' घिसिङले भने, 'देशको समग्र अवस्था हेर्दा अहिले धेरै जलविद्युत आयोजना बनिरहेका छन्। तिनका लागि आन्तरिक खपत बढाउनु पर्नेछ र क्षेत्रीय र अन्तर्राष्ट्रिय बजार पनि विस्तार गर्नुपर्नेछ।' त्यसका लागि पनि सरकारले प्राधिकरणमा फेरि राइट मान्छे ल्याउँछ भन्ने आफूलाई लागेको उनले बताए। तपाईंको पुनर्नियुक्ति हुन्छ त? भन्ने प्रश्नमा घिसिङले भने- यसमा म कुनै प्रतिक्रिया दिन चाहन्नँ। किनकी यो नितान्त सरकारले निर्णय गर्ने विषय हो। सामाजिक सञ्जालमा आफ्नो पुनर्नियुक्ति माग्नेहरूका कुरा उनले पनि पढे/सुनेका छन्। 'उहाँहरूले मलाई सदभाव र शुभेच्छा पहिलादेखि नै देखाउनु हुन्थ्यो। अहिले पनि देखाइरहनु भएको छ,' घिसिङले भने,'उहाँहरू सबैलाई मेरो धन्यवाद छ। तर सबैले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि सफलता एउटा व्यक्तिका कारणले मात्र मिल्दैन। त्यसमा हामी सबैको भूमिका हुन्छ, हुनुपर्छ।'

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...