बामदेव जागेपछि खतिवडा “डेञ्जर जोनमा”

राजनीति

बामदेव जागेपछि खतिवडा “डेञ्जर जोनमा”
१५ भदौ, काठमाडौं । हाल सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा छन्, डा. युवराज खतिवडा । नेकपाभित्रको विकसित घटनाक्रमले उनको पद ‘डेन्जर जोन’ मा परेको छ । संवैधानिक रुपमा भदौ २० भित्र राष्ट्रियसभा सदस्य मनोनित भइसकेमात्रै मन्त्रीका रुपमा निरन्तरता दिन सक्ने बाध्यकारी अवस्थामा रहेका खतिवडाको मनोनयन नै अन्योलमा परेपछि उनी ‘डेन्जर जोन’मा परेका हुन् । सरकारले राष्ट्रियसभामा रिक्त रहेको एक पदमा भदौ २० भित्र नियुक्ति कसलाई गर्नेछ भन्ने चासोका बीच उपाध्यक्ष बामदेव गौतमको नाम फेरि चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेपनि पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ । पार्टी स्रोतका अनुसार पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको हो । यसैबिच वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले बताए । प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् । तर, गौतमले चेतावनीको भाषामा भने- "मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।" आफूले राष्ट्रियसभामा जान्न नभनेको बताउँदै गौतमले भने, ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ ।’ डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...