प्याराग्लाइडिङ्ग दुर्घटनामा नेपाली सेनाका राजाराम मगरको ज्यान गयो।

अन्य

मार्च १७ मनु कोंमे तमु फिष्टेल न्यूज पोखरा :-राजाराम रानामगर २०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा नेपाले रजत पदक हात पार्दै नेपालले चर्चा र प्रशंसा बटुल्यो ।पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । व्यावासयिक रुपमा पोखरामा उडान भरिने भए पनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।प्याराग्लाइडिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सोच बनायो । एसियाली खेलकुदमा पदक जिते यता नै नेपाली सेनाले प्याराग्लाइडिङको तालिममा पठाउन थाल्यो ।
खेलाडी उत्पादन गर्ने सेनाको योजनाअनुसार अहिले २ महिलासहित २३ जनाले प्याराग्लाइडिङको तालिम लिइरहेका छन् ।त्यही टोलीबाट १ महिनादेखि पोखरामा प्याराग्लाइडिङको अभ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम रानामगर ।
पोखरामै पनि प्याराग्लाइडिङ प्रतियोगिता हुँदै थियो । आउँदो प्रतियोगितामा नेपालबाट भाग लिएर पदक जित्ने सपनासहित मगरले पोखराको आकासमा सोमबार सोलो (एकल) उडान भरिरहेका थिए ।

राजारामले हावामा कावा खाँदै पदक जित्ने सपना पूरा गर्न पाएनन् । अभ्यासकै क्रममा सोमबार प्याराग्लाडिङबाट फेवातालमा खसेर मगरको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद विभागबाट छनोट भएर पोखरामा तालिमका लागि आएका थिए ।

‘प्याराग्लाडिङको राष्ट्रिय खेलाडी उत्पादन गर्न छनोट गरेर हेडक्वाटरले पोखरा पठाएको छ । १ महिनादेखि सो तालिम चलारहेको थियो,’ नेपाली सेनाको पश्चिम पृतनाका सूचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलले भने, ‘तालिमकै क्रममा तालमा खसेर उपचारका क्रममा राजारामको ज्यान गयो ।’

उडानकै क्रममा उनी फेवातालमा डुबेका थिए । तत्काल उद्धार गरेर रानीपौवास्थित नेपाली सेनाकै अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सेनानी पौडेलले जानकारी दिए ।

कालीजंग गण रसुवामा कार्यरत राजाराम प्याराग्लाडिङ अभ्यासका पोखरा आएका थिए । ‘विजयपुर ब्यारेकबाट सराङकोट पु¥याउने, ल्याउने काम भइरहेको थियो । राष्ट्रिय खेलाडि उत्पादन गरेर आउँदो प्रतियोगितामा सहभागी गराउने योजना थियो,’ पौडेलले भने, ‘तर, अभ्यासकै क्रममा फेवातालमा खसेका राजारामलाई बचाउन सकिएन ।’

राजारामको शव बुझेर परिवारले मंगलबार अन्त्येष्टि गरिसकेको छ । ४ वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका राजारामले प्याराग्लाडिङ प्रतियोगिताको अभ्यास गर्ने रुचि देखाएका थिए । विभागले राजारामलाई छनोट गरी तालिमका लागि पोखरा पठाएको थियो ।

‘प्रतियोगिता जित्छु । देशको नाम राख्छु भनेको थियो । दशैंमा घर गएर फर्किएको थियो,’ राजारामबा बुबा कुलबहादुर रानाले भने, ‘तर, सबै सपना अधुरै रहे ।’ कुलबहादुरकै कारण राजाराम पनि नेपाली सेनामा भर्ती भएका थिए ।

कुलबहादुर अवकासप्राप्त नेपाली सैनिक हुन् । उनका दाजु ऋषि रानामगर सेनामै कार्यरत छन् । सँगै तालिम लिइरहेका सहकर्मीले राजारामले कुशलतापूर्वक खेल सिकिरहेको र पदक जित्ने दृढ विश्वास पनि उनमा रहेको बताए ।

‘दुर्घटनाका कारणबारे अनुसन्धान अगाडि बढिरहेको छ । प्राधिकरणले पनि अध्ययन गर्ला,’ सेनानी पौडेलले भने, ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अभ्यास भइरहेकाले यसलाई गम्भीर रुपमा हेरिएको छ ।’


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...