पोखरामा आइसोलेसन कक्षको अभाव

स्वास्थ्य

पोखरामा आइसोलेसन कक्षको अभाव
१४ भदौ, पोखरा । संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको अभाव देखिन थालेको छ । गण्डकी प्रदेश सरकारको कोरोना विशेष अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल ४० बेड क्षमताको आइसोलेसन कक्ष रहेकोमा संक्रमति बढेपछि बेड संख्याको अभाव देखिएको छ । अस्पताल निर्देशक डाक्टर अर्जुन आचार्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालको आइसोलेसनमा १० वटा आइसीयूको व्यवस्था पनि रहेको बताए ।  शिशुवामा पनि संक्रामक तथा सरुवा रोग अस्पताल निर्माण भएको र मालेपाटनमा पनि क्वारेन्टाइन रहेकोमा सँगसँगै अरु पनि बेड सङ्ख्या बढाउने तयारी भइरहेको उनले जानकारी दिए । संक्रमणपछि जटिल समस्या देखिएका बिरामीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नै उपचार गरिरहेको उनले बताए । पछिल्लो समयमा स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भइरहेकाले नियमित सेवा दिन गाह्रो भइरहेको उनले बताए । ‘इमर्जेन्सी वार्ड र ओपिडीमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा नियमित सेवा प्रदान गर्न एकदमै गाह्रो भई रहेको छ । तर, अस्पतालका अन्य सेवा पनि बन्द गरेका छैनौँ । कर्मचारीहरु कम भएको हुनाले वार्ड पनि मर्ज गरेका छौँ,’ उनले भने, ‘उहाँहरुलाई क्वारेन्टाइनमा लैजानु प¥यो । पीसीआर गर्नुप¥यो । त्यो गर्दा हामीलाई स्टाफ सर्टेज छ ।’ केही समय अघि मात्रै इमर्जेन्सी वार्डमा उपचारका लागि भर्ना भएका बिरामीमा संक्रमण पुष्टि हुँदा ३३ जना स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।  उपचारका लागि आएका बिरामीमध्ये शंका लागेका बिरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नु पर्नेमा कर्मचारीको अभाव हुँदा अस्पतालले प्रिआइसोलेसन तयार पारे पनि सञ्चालनमा आउन सकेको छैन । डाक्टर आचार्यले चाँडोभन्दा चाँडो प्रिआइसोलेनसनलाई सञ्चालनमा ल्याउने बताए । कास्की जिल्लाको हकमा सामाजिक विकास मन्त्रालय, महानगर प्रमुखको समन्वयमा आइसोलेसन कक्ष विस्तार गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए । ‘त्यसको लागि हामीले प्रतिवेदन पनि बुझाइसकेका छौँ । त्यो कार्यान्वयन भयो भने मात्रै पनि यहाँ धेरै सहज हुन्छ,’ उनले भने । आइसोलेसन कक्ष विस्तारको लागि आइसियू र भेन्टिलेटरसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ बेड र मितेरी अस्पतालमा १० बेड थप्न सकिने प्रस्ताव आफूहरुले गरेको उनले बताए । यसका लागि चाहिने खर्च र जनशक्तिको विवरण पनि पेश गरेको उनले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...