तालिवानले घेरेको कावुलमा १५ सय नेपाली रहेको खुलासा

विदेश

तालिवानले घेरेको कावुलमा १५ सय नेपाली रहेको खुलासा

अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा रहेका नेपालीको विवरण मन्त्रालयमा पठाएको हो ।

तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच नेपाल सरकारले काबुलमा कार्यरत नेपालीको सोधखोज तीव्र पारेको छ । संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार संयुक्त राष्ट्रसंघ तथा त्यसअन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् ।

अफ्गानिस्तानको राजधानी कावुल

काबुलस्थित अमेरिकी राजदूतावासमा मात्रै पाँच सय ६० जना नेपाली कार्यरत छन् । त्यसमध्ये तीन सय ८० त्यही कार्यरत रहेका र बाँकी एक सय ८० बिदामा काबुलबाहिर छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा मात्रै कम्तीमा चार सय ७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०/६० जना नेपाली खटिएका छन् । अस्ट्रेलियाको दूतावासमा कार्यरत नेपाली भने स्वदेश फर्किसकेका छन् । राजधानी काबुलमा रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको थाहा भएको छ । उनीहरू सुरक्षित छन् ।’

अमेरिकी दूतावासको भित्री सुरक्षा घेरामा नेपाली हतियारसहित छन् । यद्यपि अमेरिकी नियोग तालिवानको निसानामा रहेकाले नेपाली जोखिममा छन् । काबुलस्थित विदेशी दूतावासहरूमा बाहिरी दुई तहको सुरक्षा घेरामा अफगानी सुरक्षाकर्मी छन् । तेस्रो सुरक्षा घेरामा नेपाली छन् भने चौथो आन्तरिक सुरक्षामा प्रायः सम्बन्धित मुलुककै सुरक्षाकर्मी छन् । 

अफगानिस्तानमा सञ्चालित भारतीय विकास परियोजनामा पनि नेपाली नागरिक कार्यरत छन् । त्यहाँ विशेषतः ओलिभ कम्पनी, गार्दा कम्पनी, आइपिजी कम्पनी, आर्ट सेक्युरिटीमार्फत नेपाली कामका सिलसिलामा पुगेका छन् । 

अफगानिस्तानको बदलिँदो परिस्थितिमा अहिले दिल्ली दूतावासका अधिकारी पूर्ण रूपमा अफगानिस्तान केन्द्रित छन् । ‘नेपालीको सुरक्षाका विषयमा हामी सतर्क अवस्थामा छौँ, दूतावासको सम्पूर्ण टिम अफगानिस्तानमा केन्द्रित छ,’ उपनियोग प्रमुख सुवेदीले भने । परिस्थिति बिग्रिँदै गएमा नेपालीलाई स्वदेश फर्काउने विकल्पमा तयारी गर्न पनि परराष्ट्र मन्त्रालयले आवश्यक गृहकार्य थालेको बताएको छ । 


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...