‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

देश

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि
फिस्टेल न्यूज । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट मात्र अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी नेपालमा पनि आम सञ्चार माध्यम तथा भर्चुअलमार्फत सीमित कार्यक्रम गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । नेपालमा सेतो, हिमाली, हाडफोर, राज, खैरो, डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध पाइन्छन् । तीमध्ये डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न सूचीमा छन् । नेपाललगायत दक्षिण एसियामा गिद्धको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक हो । सो औषधि प्रयोग गरेका पशुको सिनो खाँदा गिद्धको मिर्गौला फेल भई ठूलो सङ्ख्यामा कमी आएको थियो । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ साल जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु गरेको छ । त्यसयता गिद्धको सङ्ख्यामा कमी आउने क्रम रोकिएको र वृद्धि उन्मुख रहेको राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए । नेपाल, भारत र बङ्लादेशलगायत मुलुकमा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधिको प्रयोगको अवस्था कस्तो छ भन्ने बारेमा हालै एक अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित भएको छ । सन् २०१२ देखि २०१७ सम्म अध्ययन गरी प्रकाशित यस लेखमा नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सियमको प्रयोग करीब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य पाइएको उक्त लेखका सहलेखक तथा गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए । प्रदूषण नियन्त्रणको सारथी गिद्ध गिद्ध आफैँले सिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । एक तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ । यसको परिणाम मानिसमा रेबिज, प्लेग, हैजा, आउँ र पखालाको महामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृतसमेत रहनुभएका भुसालले बताए । पारिस्थितिकीय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौँ किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...