जनआदर्श आधारभुत विद्यालयका विद्यार्थीलाई मिलन फाउण्डेशन द्वारा न्यानो पोशाक बितरण ।

अन्य

पुष २६ मनु कोंमे तमु फिष्टेल न्यूज :-पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउण्डेशन नेपालले जाडो यामको पोशाक वितरण गरेको छ ।
बिहीबार आयोजित पोशाक वितरण कार्यक्रममा मिलन ट्रष्टकी संरक्षक, समाजसेवी सावित्रीकुमारी गुरुङ र फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को प्रायोजनमा मिलन फाउण्डेशन नेपालमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकसँग मिल्ने एक÷एक सेट न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा समाजसेवी सावित्री गुरुङले पोशाक वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले फाउण्डेशनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताउनुभयो । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को आर्थिक सहयोगमा फाउण्डेशनले देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको बताउँदै भविष्यका कर्णधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीले अहिले समाजमा समाजसेवाको भावना ह्रास हुँदै गएको बेलामा मिलन फाउण्डेशन नेपालले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउनुभयो । आफूले विदेशमा रगत, पसिना बगाएर कमाएको पैसा समाजसेवामा लगाउनु उदाहरणीय कार्य भएको बताउँदै क्षत्रीले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफ्नो जन्मभूमिका लागि गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनका प्रेस संयोजक रूद्रबहादुर श्रीसले समाजसेवा र दुर्गा गुरुङ “मिलन” एउटा पर्यायवाची जस्तो बनिसकेको उल्लेख गर्नुभयो । समाजसेवालाई आफ्नो अभिन्न पाटोका रुपमा गुरुङले निरन्तरता दिएको भन्दै प्रेस संयोजक श्रीसले फाउण्डेशनमार्फत् शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको उत्थानसँगै गीतसंगीत र चलचित्रमार्फत् स्थानीय कला, संस्कृति एवं जन्मभूमिको उजागर गर्न समाजसेवी गुरुङले उदाहरणीय भूमिका खेलेको बताउनुभयो ।
सो अवसरमा मोदी गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधि इन्द्रप्रसाद उपाध्यायले समाजमा केही गर्नुपर्छ भन्ने सोंच राख्ने समाजसेवी दुर्गा गुरुङ “मिलन” मनकारी व्यक्तित्व भएको बताउनुभयो । फाउण्डेशनका सचिव खडकबहादुर गुरुङ “मदन”ले फाउण्डेशनको उद्देश्य र कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण शर्मा र प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच, कार्यक्रममा बाजुङका भलिबल खेलाडीहरूका लागि समेत आर्थिक सहयोग गरिएको थियो ।
फाउण्डेशनले यसअघि, पनि मोदी गाउँपालिकाको पातीचौरस्थित पशुपति आधारभूत विद्यालयमा न्यानो पोशाक वितरण गरेको थियो । त्यस्तै, फाउण्डेशनले कुश्मा नगरपालिका–१२, ठूलीपोखरीस्थित कालिका भगवती मन्दिरलाई फलामे कुर्ची समेत सहयोग गरेको थियो । २०७१ सालमा स्थापना भएको यस फाउण्डेशनले संरक्षक दुर्गा गुरुङ “मिलन”को आफ्नै व्यक्तिगत र परिवारका सदस्यहरूको कमाइबाट हरेक वर्ष विभिन्न सहयोग गर्दै आएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...