कोरोना संक्रमितको घरमा वडा कार्यालयको ताला

देश    समाज

कोरोना संक्रमितको घरमा वडा कार्यालयको ताला
१९ भदौ, काठमाडौं ।  भक्तपुरमा कोरोना संक्रमितको एक घरमा वडा कार्यालयले ताला लगाएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका हुन् । उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ । घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर ताला लगाइएको हो । वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले स्थानीय, घरबेटी र प्रहरीसँग समन्वय गरेर ताला लगाएको बताउनुभयो । वडा कार्यालयले घरमा ताला लगाईदिएपछि कमलविनायक स्थित संक्रमित पुरुषका परिवार र डेरागरी बस्ने तीन परिवारका १० जना घरभित्र थुनिएका छन् । अन्य स्थानमा यस अघि कोरोना संक्रमित भेटिएपछि संक्रमितको टोलका केही भाग मात्रै संक्रमित क्षेत्र भनेर सिल गर्ने गरिएको थियो। टोलका स्थानीयहरुले संक्रमितको घरबाट मानिसहरु घर बाहिर आवतजावत गरेको गुनासो आएपछि संक्रमण समुदायमा फैलिने डरले घरमा ताला लगाएको वडाध्यक्ष ह्ँयौमिखाको भनाइ छ।संक्रमितको घरपरिवारमा यस्तो अमानवीय काम गर्न नहुने नि भन्दा वडाध्यक्ष ह्यौंमिखाले ताला लगाउन हुन्न भन्ने हो तर त्यस घरमा डेरा गरी बस्नेहरूको ओहोरदोहोर भइरहने भएको हुदाँ स्थानीयवासीको सल्लाहअनुसार त्यस्तो गरेको उल्लेख गर्नुभयो । केही आकस्मिक काम परे छिमेकीलाई नै खोलिदिन भन्दै चाबी दिइएको उहाँको भनाई छ  भाडामा बस्ने मान्छेहरू पनि छन् निस्किरहन सक्छन् भनेर घरबेटीले नै अनुरोध गरेपछि ताला लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डिएसपी दीपक गिरीले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमितको पहिचान खुल्ने गरि कुनै पनि गतिविधि नगर्न भनेको छ। संक्रमितको घरमा ताला लगाउनु गलत भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसबारे आफूलाई थाहा नभएको र केही अवाञ्छित गतिविधि भएको रहेछ भने बुझ्ने बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...