कोरोना निको पार्ने आर्कबटी के हो ? कति प्रभावकारी छ ?

देश    स्वास्थ्य

कोरोना निको पार्ने आर्कबटी के हो ? कति प्रभावकारी छ ?
न्युज अफ नेपाल यमलाल भुसाल, बुटवल । रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ । ‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले सोमबार बताउनुभयो । गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा. बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा. गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ । उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो । डा. गौतमले तयार गर्नुभएको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताउनुभयो । नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताउनुभयो । डा. गौतमले चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको बताउनुभयो । २ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गर्नुभएकोे सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको डा. गौतमले बताउनुभयो । डा. गौतम २०४८ सालदेखि हालसम्म ३६ करोड रुपियाँ जडीबुटीको अनुसन्धान र उत्पादनमा खर्च गरेको बताउनुहुन्छ । हालसम्म उहाँले ३ सयवटा प्रोजेक्टमा अनुसन्धान गरिसक्नुभएको छ । व्यक्तिगतरुपमा कोरोना भाइरसविरुद्धको औषधी बनाउन खर्च गरेको १५ लाख रुपियाँ त केवल नमुनाका रुपमा औषधी बाँड्दा सकिएको समेत सुनाउनुभयो । उहाँले अहिले लकडाउनका कारण मूल्य बढी हालेर भए पनि कच्चा पदार्थ खरिद गर्नुपरेकाले कोरोना भाइरसविरुद्धको औषधीको मूल्य अलि बढी पर्ने गरेको पनि बताउनुभयो । अहिले काठमाडौंमा ४ हजार र बाहिर ३ हजार ५ सयमा एक जना कोरोना पोजेटिभ बिरामीका लागि चाहिने डोजको मूल्य तय गरिएको छ । वारमासेको तेलबाट टेक्टर र जेनेरेटर चलाएर नेपालमै चर्चा कमाउनुभएका डा. गौतमले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले वारमासे तेलको थर्मलप्यालन्टका लागि सरकारले सूचीकृत गरिदिएको भए अहिले नेपालले आयात गर्ने डिजलमा ९० प्रतिशत कटौती हुने र नेपाल सरकारलाई १० करोड राजस्व आउने दाबीसमेत गर्नुभयो । ‘विडम्बना सरकार नेपालमा नेपाली कच्चा पदार्थमा आधारित उद्योगको संरक्षणको पक्षमा नै छैन।’ –उहाँको कथन रहेको छ । ‘गत फागुनमै मैले यो औषधी तयार पारेको थिएँ, सरकारी निकायलाई पनि आयुर्वेद औषधीका रुपमा प्रयोग गर्न सुझाएँ’, आयुर्वेद आचार्य गौतमले भन्नुभयो– ‘सरकारले यो औषधीबारे कुनै चासो दिएन ।’ ‘शुरुमा कसैले पनि नपत्याएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरें । त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरें।’ –उहाँले बताउनुभयो । भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएका छैनन् । अहिले भने रुपन्देही, कपिलवस्तु र काठमाडौंमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको उहाँ बताउनुहुन्छ । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्युलाई रोक्न सकिने दाबी उहाँको छ । डा. गौतमले २०६८ सालदेखि भैरहवामा त्रयम्बकम् जडीबुटी सहकारी लिमिटेड स्थापना गरी जडीबुटीबाटै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने अभियानमा लाग्नुभएको छ । १ हजार २ सय ५६ जना शेयर सदस्य रहेको सहकारीका ३ सय ५० शेयर सदस्यले विभिन्न प्रजातिका जडीबुटीको खेती गरिरहेका छन् । गत वैशाखमा नै औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरी निवेदन दर्ता गरी प्रक्रिया अघि बढाइएको छ । अर्कबटी बनाउने जडीबुटीको नाम बताउन नमिल्ने भन्दै पाँच प्रकारका जडीबुटी र धातु मिश्रण गरी तयार गरिएकोे औषधी विभागमा आयुर्वेद औषधीको रुपमा दर्ता भएपछि वैधानिकरुपमा बजारमा ल्याउने बताउनुभयो । विभागमा आयुर्वेद औषधीको रुपमा दर्ता भएपछि वैधानिकतासँगै विश्व स्वास्थ्य संगठनबाट पनि स्वीकृत प्रदान गरेसँगै औषधीको नामकरण कोरोना बटीको नाममा बजारमा ल्याउने बताउनुभयो । स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, बिरामीले बिहान र साँझ गरी दिनमा दुईवटा गोली खानुपर्ने हुन्छ । ज्वरो, पखाला र वान्ता हुने लक्षणका बिरामीले २ दिनमा ३ गोली र अलि गम्भीर प्रकृतिका बिरामीले १० दिनसम्म हरेक दिन साँझ–बिहान गरी २ वटाका दरले २० गोली खानुपर्छ । सामान्य लक्षण नदेखिएकाले भने दिनमा १ गोलीका दरले सेवन गर्न सकिने मापदण्ड तयार गरेको डा. गौतमले बताउनुभयो । उहाँका अनुसार यसको कुनै साइड इफेक्ट छैन । ‘अर्कको अर्थ सूर्य र बटीको अर्थ गोली भएकाले अहिले यो नाम दिइएको हो, औपचारिक प्रक्रिया पूरा भएपछि यो ‘कोरोना बटी’को नामले बजारमा पाइनेछ।’ –डा. गौतमले प्रस्ट पार्नुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...