कोरोनाबाट बचाउन कैदीबन्दीलाई छाड्ने सरकारको तयारी

देश

कोरोनाबाट बचाउन कैदीबन्दीलाई छाड्ने सरकारको तयारी
१६ भदौ, काठमाडौं । केन्द्रिय कारागार सुन्धारामा कोरोना संक्रमित कैदी बन्दीको संख्या ५२ पुगेको छ । जेल सुरक्षामा खटिएका ५६ प्रहरी कोभिड–१९ संक्रमणको शिकार भएका छन् । जेलमा कोरोना संक्रमण ‘चिन्ताजनक’ रहेको विष्लेषण गर्दै संसदको राज्य व्यवस्था समितिले कैदीबन्दीको ब्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको भर्चुअल बैठकले संविधान दिवस, दसैँ र प्रजातन्त्र दिवस जस्ता अवसरमा ‘माफी मिनाहा’ दिन मिल्ने कैदीबन्दीलाई अहिले नै परिवारको रोहबरमा जिम्मा लगाउने विकल्पबारे समितिले सरकारलाई सुझाव दिएको हो । राज्यब्यवस्था समितिले दिएको सुझाव र निर्देशनका आधारमा गृह मन्त्रालयले कैदीबन्दीलाई कसरी छाड्न सकिन्छ भन्नेबारे गृहकार्य शुरु गरेको छ । गृह मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘संक्रमणबाट जोगाउन कैदीबन्दीको संख्या कटौति गर्नेबारे हामी वर्कआउट गर्दै छौँ । अहिले हामी छलफलको चरणमा छौँ ।’ कारागार व्यवस्थापन विभागका अधिकारीहरुले पनि कैदबन्दी छाड्न सकिने विविधि विकल्पबारे छलफल चलाएका छन् । संविधान दिवस, वडादशैं, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको अवसरमा सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई ‘माफी मिनाहा’ गर्ने गरेको छ । ‘संविधान दिवस (असोज ३ मा)  माफी–मिनाहा पाउने कैदीहरुको विवरण तयार गरिरहेका छौं’ कारागार ब्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘५० प्रतिशत कैद भुक्तान गर्ने असल चालचलन भएका कैदीले मात्र माफी मिनाहा पाउँछन् ।’ जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र दसैँमा असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेकालाई माफी मिनाहा गर्न सक्छ । लकडाउन शुरु भएपछि सरकारले २ सय ३३ जना कैदीलाई जेलमुक्त गरेको छ । गणतन्त्र दिवस (जेठ १५)को अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीलाई माफी मिनाहाको निर्णय गरेकी हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...